फेटा–७ गम्हरियामा S.E.E. टेस्ट परीक्षा सुरु, ५० विद्यार्थीहरु सहभागी

फागुन ४, बारा : श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गम्हरिया (फेटा गाउँपालिका–७) मा आजदेखि S.E.E. टेस्ट परीक्षा सफलतापूर्वक सञ्चालन भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधुमन साहको विशेष सामाजिक पहलमा आयोजना गरिएको उक्त परीक्षाले विद्यार्थीहरूलाई आगामी मुख्य S.E.E. परीक्षाको तयारीमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको परीक्षामा सहभागी विद्यार्थीहरूबाट प्रति विद्यार्थी रु ५०० का दरले शुल्क संकलन गरी व्यवस्थापन गरिएको विद्यालय स्रोतले जनाएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ, जसमा कुल ५० जना विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
परीक्षा सुचारु तथा व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यार्थीहरूको सक्रिय सहयोगको सराहना गरिएको छ। अनुगमनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक पप्पु सिङ्ग, शिक्षक दोलेंद्र यादव, इयार महम्द, लेखापाल प्रमहन्श यादव लगायत स्थानीय शिक्षा प्रेमी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सामाजिक अभियन्ता राज किशोर साहका अनुसार परीक्षा पूर्ण रूपमा व्यवस्थित ढंगले सम्पन्न भएको र विद्यार्थीहरूले उच्च उत्साहका साथ सहभागिता जनाएको बताउनुभयो।