हरितगृह ग्यास वृद्धि जलवायु परिवर्तनको मुख्य कारण, कृषिमा गहिरो असर

295

१७ पुस बारा। पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अत्यधिक बढ्नु जलवायु परिवर्तनको प्रमुख कारण बनेको छ। बढ्दो हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धिलाई तीव्र बनाउँदै विश्वव्यापी उष्णीकरण (ग्लोबल वार्मिङ) बढिरहेको विज्ञहरूले बताएका छन्। यसले मौसमको ढाँचा, वर्षा, तापक्रम तथा कृषि उत्पादनमा गहिरो असर पारिरहेको छ।

फेटा गाउँपालिकाका कृषि प्राविधिक सञ्जय कुश्वाहाका अनुसार जलवायु परिवर्तनमा मानवीय गतिविधिको भूमिका प्रमुख छ। बिजुली उत्पादन, उद्योग, यातायात, इँटा भाटा, कोइला तथा इन्धन जलाउँदा कार्बन डाइअक्साइड र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जन हुन्छन्। वन विनाशका कारण CO₂ सोस्ने प्राकृतिक क्षमता घट्दा वातावरणीय सन्तुलन थप बिग्रँदै गएको उनले बताए।

कृषि तथा पशुपालन क्षेत्र पनि हरितगृह ग्यास उत्सर्जनको ठूलो स्रोत बनेको छ। धान खेती, गाईवस्तु पालन र रासायनिक मलको प्रयोगबाट मिथेन र नाइट्रस अक्साइड उत्सर्जन हुने गरेको कुश्वाहाको भनाइ छ। साथै, उद्योग र फोहोर व्यवस्थापन प्रक्रियाबाट पनि ठूलो मात्रामा हरितगृह ग्यास निस्कने गरेको छ।

गोबरको उचित व्यवस्थापन नहुँदा मिथेन ग्यासको उत्सर्जन बढ्दै गएको र यसको Global Warming Potential कार्बन डाइअक्साइडभन्दा करिब २८ गुणा बढी रहेको उनले जानकारी दिए। धान खेतीमा रासायनिक मलको अत्यधिक प्रयोग, बाली अवशेष जलाउने अभ्यास, वन विनाश र भारी कृषि उपकरणमा इन्धनको प्रयोगले वातावरणीय असर झनै बढाएको उनले बताए।

जलवायु परिवर्तनको प्रभाव कृषिमा प्रत्यक्ष देखिन थालेको छ। खडेरी, अत्यधिक वर्षा र बाढी, नदी तथा पानीका मुहान सुक्नु, बाली उत्पादन घट्नु, बाली पाक्ने समय परिवर्तन हुनु, रोग तथा किराको प्रकोप बढ्नु, माटो क्षय र खाद्य असुरक्षा जस्ता समस्या बढ्दै गएका छन्।

यी चुनौतीबाट जोगिन कुश्वाहाले विभिन्न अनुकूलन उपाय अपनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार ड्रिप सिँचाइ, स्प्रिंकलर सिँचाइ, वर्षा पानी संकलन, बाँध तथा तटबन्ध निर्माण, जैविक मलको प्रयोग, उन्नत जातका बीउ, रैथाने बाली संरक्षण र आधुनिक कृषि प्रविधिको प्रयोग अत्यावश्यक छन्।
जलवायु परिवर्तनले महिलामाथि पनि गहिरो असर पारिरहेको छ। पानीका मुहान सुक्नु, कम वर्षा, तापक्रम वृद्धि र भूमिगत पानीको अत्यधिक प्रयोगले महिला समुदायको दैनिक जीवन र कृषि कार्यमा थप चुनौती सिर्जना भएको उनले बताए।

Leave A Reply

Your email address will not be published.