०४ फागुन बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडामाथि भएको अभद्र व्यवहारप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८, बडहर्वा चोकमा समाचार संकलनका क्रममा पुगेका पत्रकार खतिवडामाथि स्थानीय श्रवण लामा (संग्राम) ले दुर्व्यवहार गरेको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गरेको हो।
विज्ञप्तिअनुसार, कलैया-पिलुवा सडक खण्डमा लामाले नियमविपरीत जबरजस्ती कर संकलन गरिरहेको र सवारी चालकहरूलाई दुर्व्यवहार गरिरहेको दृश्य पत्रकार खतिवडाले आफ्नो क्यामेरामा कैद गरी समाचार सम्प्रेषण गरेका थिए। सोही विषयलाई लिएर आक्रोशित बनेका लामाले खतिवडालाई अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेको बताइएको छ।
महासंघको आपत्ति र माग
महासंघका बारा शाखा अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार: कमजोर कानुनी कारबाही: सार्वजनिक स्थलमा महिला र बालबालिकाको समेत प्रवाह नगरी उच्छृङ्खल व्यवहार गर्ने लामालाई प्रहरी चौकी जैतापुरले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडेकोमा महासंघले घोर आपत्ति प्रकट गरेको छ।
सुरक्षा चुनौती: समाजमा नकारात्मक प्रभाव फैलाउने र सञ्चारकर्मीको सुरक्षामा चुनौती थप्ने यस्ता व्यक्तिलाई उन्मुक्ति दिनु न्यायोचित नहुने महासंघको ठहर छ।
कडा कारबाहीको माग: सामाजिक अपराधविरुद्ध समाचार संकलन गर्ने पत्रकारको सुरक्षा सुनिश्चित गर्न र दोषी लामालाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही अगाडि बढाउन महासंघले प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ।
Comments are closed.