बारा कांग्रेसका दुईतिहाइ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ प्रस्थान
२६ पुस बारा । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर बारा जिल्लामा राजनीतिक सरगर्मी बढेको छ। संस्थापन पक्षको विरोध र बहिष्कारको आह्वानलाई बेवास्ता गर्दै बारा जिल्लाका झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि राजधानी काठमाडौँतर्फ प्रस्थान गरेका छन्।
जिल्लाबाट करिब ६४ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने दृढ अडानसहित काठमाडौँ पुगेका हुन्। जिल्ला सचिव राजेश रौनियारले पार्टीलाई सङ्गठनात्मक रूपमा बलियो बनाउने, आन्तरिक लोकतन्त्रलाई पुनर्जीवित गर्ने र कांग्रेसलाई सही दिशामा अग्रसर गराउने उद्देश्यले यो विशेष महाधिवेशन ऐतिहासिक महत्वको भएको बताए।
बारामा रहेका कुल १०४ महाधिवेशन प्रतिनिधिमध्ये ६५ जनाभन्दा बढी प्रतिनिधि आजै विभिन्न सवारी साधन प्रयोग गरी काठमाडौँतर्फ लागेको र बाँकी केही प्रतिनिधिहरू भोलिसम्म राजधानी पुग्ने तयारीमा रहेको कांग्रेस बाराका पूर्व उपसभापति तथा महाधिवेशन प्रतिनिधि सुरेन्द्र गुप्ताले जानकारी दिए।
यसअघि नै बारा कांग्रेसले सबै महाधिवेशन प्रतिनिधिलाई अनिवार्य सहभागिताका लागि ह्विप जारी गरिसकेको थियो। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै सहभागिता नगर्न दबाब दिइरहेका बेला बाराका प्रतिनिधिहरूले भने त्यसलाई खुला चुनौती दिएका छन्।
कांग्रेस क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि प्रभात चौरसियाले आफूहरू पार्टीप्रति निष्ठावान कार्यकर्ता भएको स्पष्ट गर्दै कुनै किसिमको दबाब, धम्की वा भय स्वीकार नगर्ने बताए। “समयको मागअनुसार कांग्रेसलाई रूपान्तरण गर्नु आजको आवश्यकता हो, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ,” उनले जोड दिए।
भोलिदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनबाट पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ हुने, सङ्गठनात्मक सुधारका ठोस निर्णय हुने र भावी राजनीतिक दिशानिर्देश तय हुने अपेक्षा बारा कांग्रेसले गरेको छ। यस महाधिवेशनलाई बारा कांग्रेसले पार्टीलाई थप एकताबद्ध, सबल र जनमुखी बनाउने अवसरका रूपमा हेरेको छ।