बर्दिबासमा जेनजी युवाद्वारा २५ गोरू तस्करी नियन्त्रण, प्रहरी संलग्नतामाथि गम्भीर आरोप
२८ पुस बर्दिबास । नेपाल–भारत सीमा हुँदै बंगलादेशसम्म फैलिएको गाईगोरु तस्करीको जालो बर्दिबासलाई ट्रान्जिट प्वाइन्ट बनाउँदै आएको आशंका फेरि बलियो बनेको छ। आइतबार राति करिब ८ बजे बर्दिबासका जेनजी युवाहरूले ट्रकमा लोड गरिएका २५ वटा गोरु नियन्त्रणमा लिएपछि तस्करीको संरचना मात्र होइन, राज्यका बहु सुरक्षा संयन्त्रको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेका छन्।
युवाहरूका अनुसार ९२९१ नम्बरको ट्रक बर्दिबासको पुरानो नगरपालिका अगाडि रोकी गोरु नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा ती गोरु नेपालबाट झापा हुँदै बंगलादेश पुर्याउने तयारीमा रहेको दाबी गरिएको छ।
व्यापारी को ? रुट के ?
नियन्त्रणमा लिइएका गोरु सर्लाही बरहथवा निवासी शुम्भु सिंह नामक व्यापारीका भएको युवाहरूले बताएका छन्। उनी लामो समयदेखि गाईगोरु तस्करीमा संलग्न रहेको स्थानीयस्तरमा चर्चा भए पनि अहिलेसम्म ठोस कारबाही नहुनु शंकास्पद देखिएको छ।
तस्करीको सम्भावित रुट सर्लाही–बर्दिबास–सिन्धुली हुँदै झापा र त्यसपछि बंगलादेश रहेको युवाहरूको अनुमान छ। स्रोतहरूका अनुसार यो रुट पहिले पनि पटक–पटक प्रयोग हुँदै आएको बताइन्छ।
‘सेटिङ’ बिना सम्भव ?
जेनजी युवाहरूले प्रहरीको मिलेमतो बिना यस्तो तस्करी सम्भव नहुने गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार बर्दिबास प्रहरीलाई मासिक ३ लाख रुपैयाँ, बर्दिबास ट्राफिक प्रहरीलाई ५० हजार रुपैयाँ बुझाइने गरिएको छ। यसबाहेक जिल्ला प्रहरी प्रमुख (एसपी) र डिआइजी तहसम्म समेत मासिक रकम पुगेको दाबी गरिएको छ।
यदि यी आरोप सत्य ठहरिए, यो प्रकरण संगठित अपराध र संस्थागत भ्रष्टाचारको गम्भीर मामला बन्ने देखिन्छ।
सशस्त्र प्रहरी बाहिनी प्रमुख डीआइजीमाथि पनि प्रश्न?
घटनाले बर्दिबासस्थित सशस्त्र प्रहरी बाहिनीको भूमिकामाथि पनि प्रश्न खडा गरेको छ। स्थानीयवासी र नागरिक समाजले “बाहिनीपति डीआइजी (बर्दिबास)को कमाण्डअन्तर्गत रहने सीमा निगरानी र सूचना संयन्त्र प्रभावकारी भए/नभएकोबारे स्पष्ट जवाफ माग गरेका छन्।
“अन्तर्राष्ट्रिय तस्करीको सम्भावित रुटमा पर्ने बर्दिबास क्षेत्रमा सशस्त्र प्रहरी बाहिनी सक्रिय छ भने यस्तो ठूलो परिमाणको गोरु ट्रान्जिट कसरी सम्भव भयो?” भन्ने प्रश्न उठाइएको छ। सशस्त्र प्रहरी प्रशासन र बाहिनी नेतृत्वबाट आधिकारिक धारणा सार्वजनिक नहुनु पनि आलोचनाको विषय बनेको छ।
अघिल्लो घटना र दोहोरो भूमिका
यसअघि करिब एक साता अघि पनि जेनजी युवाहरूले सिन्धुलीबाट ल्याइएका ४ वटा गाई र ४ वटा गोरु नियन्त्रणमा लिएर बर्दिबास प्रहरीलाई बुझाएका थिए। तर प्रहरीले आफैं पक्राउ गरेको उल्लेख गर्दै भन्सार कार्यालयमा बुझाएको आरोप युवाहरूले लगाएका छन्। यसले नागरिकले नियन्त्रणमा लिएका अवैध गतिविधिलाई राज्य संयन्त्रले ‘अपनत्व’ लिने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीको मौनता, अनुसन्धान कहिले ?
घटनाबारे बर्दिबास प्रहरी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बाहिनी (बर्दिबास) तथा बाहिनीपति डीआइजीबाट अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन। गम्भीर आर्थिक लेनदेन र अन्तर्राष्ट्रिय तस्करीसँग जोडिएको यस प्रकरणमा देखिएको मौनता आफैंमा शंकास्पद मानिएको छ।
स्थानीयवासी र नागरिक समाजले स्वतन्त्र छानबिन समिति गठन गरी,तस्करीको सम्पूर्ण नेटवर्क,संलग्न व्यापारी,
प्रहरी, सशस्त्र प्रहरी बाहिनी र प्रशासनिक तहको भूमिका खुलासा गर्न माग गरेका छन्।
यदि निष्पक्ष र पारदर्शी अनुसन्धान तत्काल अघि नबढाइए, बर्दिबास गाईगोरु तस्करीको सुरक्षित ट्रान्जिट बिन्दु बन्दै जाने खतरा टार्न नसकिने स्थानीयको चेतावनी छ।