२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा झण्डा मार्च टोली रौतहटबाट बारातर्फ प्रस्थान
०५ माघ बारा । २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम अन्तर्गत झण्डा मार्च टोली रौतहटबाट बारा जिल्लातर्फ प्रस्थान गरेको छ।
पौष २० गते पूर्वी सीमा झापाबाट सुरु भएको झण्डा मार्च टोली मिति २०८२/१०/०४ गते रौतहट आइपुगेको थियो। आज मिति २०८२/१०/०५ गते नेपाल–भारत सीमा क्षेत्र रौतहटको बौधिमाई नगरपालिका–७ बडाबंकुलस्थित अरुवा खोलानजिक झण्डा हस्तान्तरण कार्यक्रम आयोजना गरी झण्डा मार्चको जिम्मेवारी विधिवत् रूपमा बारा जिल्लालाई सुम्पिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारी नेतृत्वको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी. नेतृत्वको टोलीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले संयुक्त रूपमा बारा जिल्लाको सिमौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारलाई हस्तान्तरण गर्नुभयो। यस्तै, सशस्त्र प्रहरी बल नेपालको झण्डा नं. ११ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी.लाई बुझाउनुभयो।
उक्त कार्यक्रममा रौतहटकी बौधिमाई नगरपालिकाकी उपप्रमुख प्रमिला देवी, रौतहटका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की, राष्ट्रिय अनुसन्धान विभाग रौतहटका प्रमुख उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी, सशस्त्र प्रहरी बलका विभिन्न सीमा सुरक्षा गुल्मका प्रमुखहरू, सिमौनगढ नगरपालिकाका वडा अध्यक्षहरू, स्थानीय भद्रभलादमी, सञ्चारकर्मी, सशस्त्र प्रहरीका अधिकृत तथा जवान र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
झण्डा हस्तान्तरण कार्यक्रममा भारततर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बल (SSB) नं. ७१ बटालियन एफ कम्पनीका कम्पनी कमाण्डर असिस्टेन्ट कमाण्डर ट्चोस्गियाल नेतृत्वको टोलीको समेत उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीका अनुसार झण्डा मार्च टोलीले नेपाल–भारत सीमा क्षेत्र हुँदै पैदल मार्च गर्दै मिति २०८२ साल माघ ११ गते पर्सा जिल्लाको सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरी पुगेर औपचारिक रूपमा झण्डा मार्च कार्यक्रम समापन गर्नेछ।