विश्वकप लक्ष्यसहित नेपाल आज यूएईविरुद्ध मैदान उत्रँदै

71

२० माघ काठमाडौं । आईसीसी टी–२० विश्वकपको माहोल तात्दै जाँदा नेपाली क्रिकेट टोली आज पहिलो वार्म–अप खेलमा मैदान उत्रँदैछ। समूह चरणको औपचारिक प्रतिस्पर्धाअघि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग अभ्यास खेल खेल्न लागेको हो।

नेपाल र यूएईबीचको यो वार्म–अप खेल आज साँझ सवा ५ बजेदेखि भारतको चर्चित चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ। विश्वकपको तयारीलाई अन्तिम रूप दिने लक्ष्यसहित नेपाल आजको खेलमा आफ्नो संयोजन र लय परीक्षण गर्नेछ।

यसअघि नेपाली टोलीले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ तथा श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो। श्रीलंका ‘ए’सँग तीन खेलमध्ये एकमा मात्र जित निकाल्न सफल नेपालले एमसीए प्रेसिडेन्ट ११ विरुद्ध भने दुवै खेल जित्दै आत्मविश्वास बढाएको थियो।

नेपालले यूएईसँगको खेलपछि अर्को वार्म–अप खेल बिहीबार क्यानडासँग खेल्ने कार्यक्रम रहेको छ।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले विश्वकप यात्राको सुरुआत माघ २५ मा बलियो टोली इंग्ल्यान्डविरुद्ध खेल्दै गर्नेछ।

त्यसपछि नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको ठूलो मञ्चमा आफ्नो छाप छोड्ने लक्ष्यसहित नेपाली टोली तयारीमा जुटेको छ।

Leave A Reply

Your email address will not be published.