मधेसमा ९६ हजार बढी किशोरीलाई एचपीभी खोप अभियान सुरु
२७ माघ जनकपुर । मधेस प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानअन्तर्गत यसवर्ष ९६ हजार ७७६ जना किशोरीलाई खोप लगाइने भएको छ। प्रदेशका आठै जिल्लामा माघ २५ गतेदेखि फागुन १५ गतेसम्म अभियान सञ्चालन गरिने मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार प्रदेशभरका एक हजार ४९६ सामुदायिक तथा एक हजार २२८ संस्थागत गरी कुल दुई हजार ७२४ विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। विद्यालय जाने ६९ हजार ६६८ र विद्यालय बाहिरका २७ हजार १०८ जना किशोरी यस अभियानबाट लाभान्वित हुने लक्ष्य राखिएको छ।
मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएर अभियानमा परिचालन गरिएको जानकारी दिए। उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप प्रभावकारी उपाय भएकाले लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको छ।
विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप दिइनेछ भने विद्यालय बाहिरका किशोरीलाई पायक पर्ने विद्यालय वा अन्य खोप केन्द्रमार्फत खोप लगाइनेछ। विद्यालय बाहिरका किशोरीका लागि परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ।
निर्देशनालयका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी रौतहटमा १७ हजार ३१९ किशोरीलाई खोप लगाइनेछ। त्यसपछि धनुषामा १६ हजार ९१५, महोत्तरीमा ११ हजार ७३७, सिरहामा ११ हजार ११९, सर्लाहीमा ११ हजार ११९, सप्तरीमा ९ हजार ७८९, पर्सामा ९ हजार ७३२ तथा बारामा ९ हजार ४६ किशोरीलाई खोप लगाउने योजना रहेको छ।
खोप अभियान सफल बनाउन प्रदेशभर तीन हजार ३०४ खोप केन्द्र स्थापना गरिएको छ। तीमध्ये दुई हजार १०१ स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा प्रदान गरिनेछ भने दुई हजार १४८ बाह्य खोप केन्द्रमार्फत पनि सेवा उपलब्ध गराइनेछ। प्रत्येक खोप केन्द्रमा एक जना खोपकर्ता परिचालन गरिनेछ र आवश्यकताअनुसार स्वयंसेविकाहरू समेत खटाइने निर्देशनालयले जनाएको छ।
स्वास्थ्य अधिकारीका अनुसार अभियानको मुख्य लक्ष्य कुनै पनि लक्षित उमेर समूहका किशोरी खोपबाट वञ्चित नहोस् भन्ने रहेको छ।