यू–१५ प्याब्सन क्रिकेट लिग–२०८२ का लागि मधेश रोयल्स टोलीलाई बर्दिबासबाट बिदाइ

73

 

अभिलाष गुप्ता

२७ माघ बिरगंज । प्याब्सन काठमाडौंको आयोजनामा सञ्चालन हुने यू–१५ प्याब्सन क्रिकेट लिग–२०८२ प्रतियोगिताका लागि मधेश प्रदेशबाट सहभागी मधेश रोयल्स क्रिकेट टोलीलाई आज बर्दिबासबाट औपचारिक रूपमा बिदाइ गरिएको छ।

माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन मधेश रोयल्स टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो। बिदाइ कार्यक्रम प्याब्सन मधेश प्रदेशको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्याब्सन वीरगञ्जका अध्यक्ष सरोज प्रसाद चौधरी, सुशील केशी लगायत प्याब्सनका विभिन्न पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। उपस्थित पदाधिकारीहरूले खेलाडीहरूलाई अनुशासन, खेलभावना र मेहनतका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै टोलीको सफलताको कामना गरेका थिए।

यू–१५ उमेर समूहअन्तर्गत हुने उक्त प्रतियोगितालाई युवा प्रतिभाहरूको विकास र राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। मधेश रोयल्स टोलीका खेलाडी तथा प्रशिक्षकहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिदाइ कार्यक्रमले खेलाडीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ रहेको छ।

Leave A Reply

Your email address will not be published.