रौतहटका किसान लाइनमा बसे पनि मल नपाएर खाली हात फर्किँदै

126

०६ भदौ बारा रौतहट। रौतहटका किसानहरू मलको अभावका कारण खेतीमा समस्या भोगिरहेका छन् । चन्द्रपुर–२ का शान्ता सिंजाली मगरले समयमा मल नपाउँदा खेतमा राम्रोसँग खेती गर्न नसकेको गुनासो व्यक्त गरे।किसानहरूका अनुसार युरिया र डिएपी मल आवश्यक समयमा उपलब्ध नहुँदा खेती प्रभावित भइरहेको छ। डिलरहरूले मल लुकाएर महँगोमा बेच्ने, स्थानीय सरकार र सम्बन्धित निकायबाट उचित अनुगमन नहुनु जस्ता कारणले दैनिक रूपमा किसानहरू लाइनमा बसेर पनि खाली हात फर्किन बाध्य छन्।गरुडा–१ र–५ का कृषि सहकारी संस्थाले महँगो मूल्यमा मल वितरण गरेपछि स्थानीयले सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए। केही स्थानमा किसानहरूले अभाव भएको मल सर्लाहीबाट ल्याउने प्रयाससमेत गरेका थिए।

रौतहटमा ६५,९६९ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३५ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ। बाली संरक्षण अधिकृत सरोज मण्डलका अनुसार धान खेतीको समयमा १० हजार मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी आवश्यक छ।

स्थानीय तह र कृषि शाखाले डिलरको अनुगमन, स्टक र वितरणमा ध्यान दिँदै आएको भए पनि मलको आपूर्ति पर्याप्त नभएको कृषकहरूको गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुर र साल्ट ट्रेडिङ्ग कम्पनी गौरले आवश्यक डिलर मार्फत मलको व्यवस्था नगर्दा अभाव बढेको बताइएको छ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लागत खेतीयोग्य जमिनको आधारमा मलको कोटा निर्धारण गर्छ भने स्थानीय तहले आफ्ना सहकारी संस्थालाई वितरण गर्ने जिम्मेवारी लिएका छन्।

Leave A Reply

Your email address will not be published.