श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

109

 

अभिलाष गुप्ता 

२९ पुस पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय तथा सक्रिय सहभागिता रहेको थियो। सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक प्रणालीको आवश्यकता, ट्राफिक नियमहरूको पालना किन अनिवार्य छ, सुरक्षित यातायात व्यवहार, पैदल यात्री, साइकल चालक तथा सवारी चालकले अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले ट्राफिक नियम पालनाले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने बताउँदै विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले ट्राफिक नियम पालना केवल कानुनी बाध्यता मात्र नभई सामाजिक जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता एलाइड यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ताले गर्नुभएको थियो। उहाँले युवाहरूलाई ट्राफिक सचेत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, कार्यक्रममा एलाइड यूथ सोसाइटीका संस्थापक अध्यक्ष ओम झाको विशेष उपस्थिति रहेको थियो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यबाट मात्र सुरक्षित समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो।

संस्थाका समर्पित सदस्यहरूको सक्रिय सहयोगका कारण कार्यक्रम भव्य, अनुशासित तथा सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.