जनयुद्ध दिवसमा प्रचण्डको अपिल : देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौं

134

०१ फागुन काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा देखिएको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

३१ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वबाट सामाजिक सञ्जालमार्फत शुभकामना भिडियो सन्देश जारी गर्दै संयोजक प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सम्मान व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै संयोजक प्रचण्डले वर्तमान संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिलाई एकजुट हुन अपिल गरेका छन् ।

संयोजक प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु ।’ उनले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारीबोध भएको पनि बताएका छन् । संयोजक प्रचण्डले रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन् ।

१० वर्षे सशस्त्र युद्ध शुरु गरेको रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ ऊर्जासहित अघि बढ्ने बताएका छन् । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध शुरु गरेको थियो । त्यही सशस्त्र युद्धलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ । यस वर्षको ‘जनयुद्ध दिवस’ आफ्नो लागि विशेष भएको प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौं ।’

Leave A Reply

Your email address will not be published.